१९ चैत, काठमाडौं । आफै दिशा धोइदिने अटोमेटिक ट्वाइलेट कमोड ! त्यो पनि मन पर्ने गीत सुन्दै ट्वाइलेट बस्न पाइने ! सुन्दा अचम्म लाग्न सक्छ । तर, यही अटोमेटिक ट्वाइलेट नेपाली बजारमा भित्रिएको छ ।
जापानमा लोकप्रिय रहेको अटोमेटिक ट्वाइलेट कमोड सजना ट्रेड लिंकले नेपाल भित्राएको हो । यो कमोडमा दिशा गरिसकेपछि एउटा बटन थिचेको भरमा हाइड्रोलिक नोजल बाहिर आएर पानीको फोहोरा फाली दिशा धोइदिन्छ ।
जापानमा अटोमेटिक ट्वाइलेट अनिवार्य भइसकेको छ । त्यहाँका सार्वजनिक ट्वाइलेटमा समेत अटामेटिक कमोड राखिएको हुन्छ । नेपालमा पाँचतारे होटलमा समेत अटोमेटिक कमोड राखिएको देखिदैन ।सजना ट्रेडका सञ्चालक सरोज न्यौपानेले पाँच वर्षअघि जापान जाँदा आफै दिशा धोइदिने ट्वाइलेट देखेका थिए । जापानको प्रख्यात पानासोनिक कम्पनीको उत्पादन अटोमेटिक कमोड उनले नेपालमा व्यवसायीक रुपमा भित्राए ।
‘नेपालमा पनि खर्चालु र सौखिन मानिस बढेका छन्, त्यस्ता व्यक्तिहरु ट्वाइलेट गएपछि हातले दिशा धुन नपरोस भन्ने चाहान्छन्’ न्यौपानले अनलाइनखबरसँग भने- ‘नेपालमा यस्तो खालको ट्वाइलेट प्रयोगमा थिएन, त्यही भएर अटोमेटिक ट्वाइलेट बिक्री सुरु गरेको हुँ ।’
साधारण कमोडको तुलनामा अटोमेटिक कमोडको मूल्य अलि चर्को छ । तर, यसका सेवा सुविधाहरु हेरेमा खासै महंगो नभएको न्यौपाने बताउँछन् । नेपालमा ९८ हजार ५ सय रुपैयाँदेखि दुई लाख ३० हजारसम्म अटोमेटिक कमोड उपलब्ध छन् ।
दुई लाख ३० हजार पर्ने कमोड पूर्ण रुपमा सेन्सरवाला हुन्छ । ग्राहकले अर्डर गरेमा आफुले जापानबाट झिकाइदिने न्यौपानेले बताए । यो मूल्यमा फिटिङ, ढुवानी लगायतका शुल्क जोडिएको उनको भनाई छ ।
सुरुमा सौखिन र धनाढ्य वर्गलाई तार्गेट गरी यो ट्वाइलेट भित्राए पनि विस्तारै अनिवार्य हुने विश्वास न्यौपानेको छ । विकसित मुलुकहरुमा यस्तो ट्वाइलेट धेरै प्रयोगमा आइसकेको छ । ‘४/५ वर्षअघि नेपालमा कम्यूटर पनि सौखिन वस्तुमा पथ्यो, अहिले त्यही वस्तु अत्यावश्यक बनेको छ । यो पनि भोलीका दिनमा अत्यावश्यक वस्तु बन्ने छ’ उनले भने ।
यो कमोड चलाउन इलेक्ट्रिक चाहिन्छ । कम पावरबाटै चल्ने हुँदा लोडसेडिङको बेलामा पनि नर्मल इन्भर्टरबाट पनि सजिलै चलाउन सकिने न्यौपाने बताउँछन् । उनका अनुसार यो कमोडले सुरुको ८ देखि १२ मिनेटसम्म ४८ वाट विद्युत खपत गर्छ । त्यसपछि भने ८ देखि १० वाटमात्र खपत गर्ने उनले बताए ।
For more:http://www.onlinekhabar.com/2016/04/408968/
Social Buttons